नर्सले भनिन्, ‘एक्स रे गराउनु भो ? डाक्टर राउन्डमा आउँदा देखाउनुपर्छ ।’ बिरामीलाई ह्वील चियरमा राखेर हामी ट्रमा सेन्टरको चौथो तलाबाट एक्स-रे गर्ने ठाउँमा ओर्लियौं । एक्स-रे गर्ने व्यक्ति थिएनन् । अस्पतालमा अक्सर बिरामी र उनका कुरुवाहरु हतास अनि हतारमा हुन्छन् । कतै रिपोर्ट देखाउनुपर्ने, कतै रगतको जोहो गर्नुपर्ने, कतै औषधि किन्नुपर्ने, कतै शल्यक्रियाको तयारी गर्नुपर्ने । जबकि अस्पतालका कर्मचारी भने ‘स्लो मोशन’मा चले झै लाग्छ । फोन चलाउँदै, पराग चपाउँदै, जीउ तन्काउँदै, हाँसीमजाक गर्दै आफ्नै पाराले काम गर्छन् । सुस्त–सुस्त । केही समयपछि एक युवा प्रकट भए । हामी उनलाई पछ्याउँदै एक्स-रे गर्ने कोठामा गयौं । उनी आरामले कुर्सीमा ढल्किए र हाम्रो टिकट हेर्दै भने, ‘वार्डको हो ? अहिले हुँदैन ।’
‘किन हुँदैन ?’ हामीले सोध्यौं । उनले बेवास्तापूर्वक जवाफ फर्काए, ‘अहिले पालो आएको छैन । पालो आएपछि आउनू ।’ हामीभन्दा अगाडि वा पछाडि कुनै बिरामी थिएनन् । भिडभाड हुन्छ भन्ने डरले नै हामी त्यहाँ हतार-हतार पुगेका थियौं । तर, ती कर्मचारी हाम्रो बाध्यता बुझ्ने पक्षमा थिएनन् । उनले ठाडै आदेश दिए, ‘बाहिर जाने । अहिले अरुको पालो सकेर बोलाउँला ।’
‘अरु कोही त छैन’ हामीले भन्यौं । इमर्जेन्सीको आउँछ । त्यसपछि मात्र तपाईंको पालो’ उनी कड्किए ।
इमर्जेन्सीको बिरामी आएकै छैन । कहिलेसम्म पर्खनुपर्ने ?’ हामीले पनि जिद्दी गर्यौं, ‘यहाँ बिरामी ल्याएर राखेका छौं । एक्स-रे मेसिन खाली नै छ । फटाफट गरिदिए भैहाल्छ नि !’ ‘मलाई सिकाउनु पर्दैन के गर्ने, के गर्ने ? विवाद गर्ने ? यो हाम्रो प्रोटोकल हो’ उनी एक्कसी जंगिए, ‘मैले हुँदैन भनेपछि हुँदैन । अन्त जानू ।’ ती युवा कर्मचारी चर्को स्वरमा कराउँदै उफ्रिन थाले । हामीले बिरामीलाई पुन वार्डमा लग्यौं । वार्डमा पुगेपछि नर्सले उही प्रश्न गरिन्, ‘एक्स-रे गराउनुभो ?’
हामीले घटना विवरण सुनायौं । उनले खिन्न हुँदै भनिन्, ‘त्यहाँ त हामीलाई पनि टेर्दैन ।’ हामी मात्र होइन, अरु बिरामी समेत उनको फेला परिसकेका रहेछन् । आसपासमा बस्नेहरु सुनाए, ‘त्यो मान्छे आफूलाई ठूलै डन हुँ भन्ने खालका छन् ।’ सरकारी अस्पतालमा कर्मचारीबाट सेवाग्राहीले कति सास्ती भोग्नुपर्छ, भनिसाध्य छैन । सोधेको कुरा प्रष्ट नभन्ने, दोहोरो कुरा गर्न नचाहने, शिष्ट र नरम भाषाशैली नअपनाउने, छरितो ढंगले फटाफट काम नगर्ने, सानो कुरामा धेरै अल्झाउने । यस्तो लाग्छ मानौं सरकारी अस्पताल उनीहरुको आफ्नै बिर्ता हो । त्यहाँ बिरामीले सधै उनीहरुलाई ‘ज्यूँ’, ‘हजुर’ गरिरहनुपर्छ ।
एक बुज्रुकको टिप्पणी सही थियो, ‘यो सरकारी अस्पताल यस्तै हो । नेता-मन्त्रीलाई भनसुन गरेरै जागिर खान्छन् । यस्ता जागिरेहरुलाई आफ्नो दायित्व बोध हुँदैन । बरु छुटै अहंम र दम्भ पनि हुन्छ । त्यसैले उनीहरुले बिरामीलाई मात्र नटेर्ने होइन, डाक्टर–नर्सलाई पनि हेप्छन् ।’
सरकारी डाक्टर, निजी काम डाक्टर पनि प्राङ्स्टार जस्तै लाग्छन्, फनफनी घुमाइदिने । आमालाई श्वासप्रश्वाससम्बन्धी समस्या बढेपछि एक डाक्टरसँग समय माग्यौं । उनी एक सरकारी अस्पतालमा काम गर्थे । तर, उनले हामीलाई निम्तो गरे, निजी अस्पतालमा ।
हामी तोकिएकै समयमा पुग्यौं । त्यो साँघुरो अस्पतालमा बिरामीको चाप थामिनसक्नु थियो । हामीले एक घण्टा बढी पालो पर्खियौं । डाक्टरले सामान्य चेकजाँच पछि हामीलाई ल्याबमा पुर्याए । त्यहाँ थाइराइड, मधुमेहलगायत भएभएरका परीक्षण गराउनु भनी उनी टाँप कसे ।
सबै परीक्षण गरियो । रिपोर्ट पर्खिरहँदा साँझ छिप्पिसकेको थियो । आमाले लामो समयदेखि उच्च रक्तचापको पनि औषधि खाइरहनुभएको थियो । हामी नजिककैको नेशनल कार्डियाक सेन्टरमा गयौं, मुटुको जाँच गर्ने मनासयले । त्यहाँ पुग्नसाथ फटाफट इको, ईसीजी परीक्षण भयो । छाती तथा फोक्सोरोग विशेषज्ञले भेउ नै नपाएका हुन् वा आवश्यक नठानेका, आमाको अक्सिजनको स्तर नै जाँच गरिएको रहेनछ । मुटुको अस्पतालमा पुगेपछि थाहा भयो, आमाको शरीरमा अक्सिजनको स्तर एकदमै न्यून रहेछ ।
हामीले डाक्टरलाई त्यही कुरा अवगत गराउँदा उनले जवाफ फर्काए, ‘अब भोलि हेरौंला, भोलि । पहिले मैले भनेको ठाउँमा गएर सिटी स्क्यान गराउनु ।’
उनले ‘तुरुन्त’ शब्दमा जोड दिदै हामीलाई छातीको सिटी स्क्यान गराउन भनेका थिए । सिटी स्क्यानका लागि शिक्षण अस्पताल अगाडिको ल्याब पनि तोकिएको थियो । राती ९ बजेको आसपासमा हामी त्यहाँ पुग्यौं र हतार-हतार सिटी स्क्यान गरायौं । ल्याबको बहिखातामा ‘कुन डाक्टरले कुन बिरामीलाई कुन परीक्षणका लागि पठाए’ भनी रेकर्ड राख्नुपर्ने रहेछ । किन होला ? मनमा शंका पस्यो । शंका किन पस्यो भने भुक्तभोगीले सुनाएका थिए, ‘यहाँ ल्याबहरुको आफ्नै धन्दा छ । कतिपयले त परीक्षण नै नगरी रिपोर्ट बनाइदिन्छन् ।’
कुन परीक्षण किन गरिन्छ, त्यसले के कस्ता समस्या पहिचान गर्छ, सो परीक्षणका लागि कति खर्च लाग्छ ? सर्वसाधरणलाई थाहापत्तो हुन्न । त्यसैले कुनैपनि स्वास्थ्य परीक्षणमा अन्धधुन्ध पैसा खर्चनु बाध्य हुन्छन् । हामीले त्यहाँ १४ हजार रुपैयाँ बुझायौं । त्यसो त सरकारी अस्पतालमा पनि धेरैजसो स्वास्थ्य परीक्षण गर्ने प्रयोगशाला स्थापना गरिएका छन् । त्यहाँ दुई वटा समस्या हुन्छ । एक, लामो समयसम्म पालो कुर्नुपर्ने । दुई, ‘मेसिनले काम गरेको छैन’ भनी जवाफ सुन्नुपर्ने ।
श्वासप्रश्वासको बिरामीमाथि ‘स्लिप स्टडी’ भन्ने परीक्षण गर्नुपर्ने रहेछ । सो परीक्षणका लागि वीर अस्पतालमा उपकरण पनि रहेछ । तर, त्यो उपकरण ‘बिग्रिएको’ कारण हामी निजी संस्थाबाट स्लिप स्टडी गराउन बाध्य भयौं । यसरी बाध्य हुँदा तीन-चार हजारमा सकिने कामका लागि १२–१४ हजार रुपैयाँ खर्चनुपर्यो ।
स्लिप स्टडीको रिपोर्ट आएपछि हामीले सम्बन्धित व्यक्तिलाई सोध्यौं, ‘के देखियो त समस्या ?’
उनले भने, ‘राती सुत्दा राम्ररी सास फेर्न सक्नुहुन्न । त्यसैले एउटा मास्क लगाउनुपर्छ ।’
‘कस्तो मास्क ? कति पर्छ ?’ उनले भने, ‘मास्क थरीथरी छन् । अलि सस्तो खालको लगाउने हो भने ७० हजारबाट सुरु हुन्छ । त्यसपछि २ लाख, १० लाख हेरीहेरी छ ।’
पैसाको अंक सुनेर हाम्रो होश उड्यो । हामीले चिन्तित हुँदै यही कुरा चिनेजानेका डाक्टरलाई सुनायौं । उनले हल्का हुँदै भने, ‘अरु केही पर्दैन । वश् आमाले आफ्नो तौल घटाए पुग्छ ।’ त्यसपछि उनले आमातर्फ फर्किएर भने, ‘आमा सक्नुहुन्छ त ? तीन महिनामा चार केजी तौल घटाउन ?’
बिल नकाट्ने भए ‘सस्तैमा सामान’ अपरेशन थिएटर बाहिर एउटा टिठलाग्दो अधवैंशे यताउता गरिरहेको थियो । उनमा एक किसिमको द्विविधा र छटपटी थियो । हामीले उनलाई सोध्यौं, ‘बिरामी तपाईंको को हो ?’
‘ससुरा बा’ उनले जवाफ दिए ।
‘के भएको ?’
‘घुँडाको गाँठो खिइएछ । त्यहाँ फलाम राख्नुपर्ने भयो ।’
हड्डी भाँचिएको, खिइएको ठाउँमा कतिपय अवस्थामा स्टिल राखिन्छ । यस्तो उपकरण बिक्री गर्ने मान्छे अस्पतालभित्रै सलबलाइरहेका हुन्छन् । उनीहरु चिकित्सकभन्दा पनि अगाडि बिरामीको बेड बेडमा पुगेर आफ्नो सामानको ‘मार्केटिङ’ गर्छन् । त्यही एजेन्टले ती अधवैंशेसँग अनौठो प्रस्ताव गरेछन् ।
‘यो सामानको बिल चाहिने हो वा होइन ? यदि बिल चाहिने भए २ लाख ९० हजार तिर्नुपर्छ । नचाहिने भए २ लाख १० हजार रुपैयाँ दिए हुन्छ ।’
यही प्रस्तावले गर्दा उनको टाउको दुखेको रहेछ । के गर्नुपर्ने ? बिल काट्ने कि नकाट्ने ? उनी द्विविधामा थिए ।
कुनै पनि उपचार गरिरहँदा बिरामीलाई थाहा हुन्न, के-कस्ता कुरामा के कति खर्च लाग्छ । चिकित्सकले सिफारिस गरेका औषधि, उपकरण फटाफट किन्नुको विकल्प हुँदैन । त्यसरी किनेका सबै सामान प्रयोग हुन्छ ? वा सो सामनको मूल्य सही छ ? बिरामीले प्रश्न गर्ने ठाउँ छैन ।
कुन पार्टीको बिरामी ?
ट्रमा सेन्टरको इमर्जेन्सी कक्षको ढोका अघिल्तिर एउटा झन्डावाल गाडी रोकियो । त्यसका अघि-पछि आएका प्रहरी भ्यान पनि त्यहाँ लस्कर लाग्यो । जहाँ आपतकालीन बिरामी ल्याएर एम्बुलेन्स राख्नुपर्ने हुन्छ, त्यहाँ झन्डावाल गाडी तैनाथ छ ।
तर, अस्पतालका सुरक्षागार्डले गाडी हटाउने कष्ट गरेनन् । किन गरेनन् ? संभवन गाडी हटाउँदा आफ्नो जागिर पनि हट्ने भय थियो ।
ती झन्डावाल महापुरुष आफ्ना पार्टीका बिरामी भेट्न आएका रहेछन् । यसरी उनीहरुले पार्टीका बिरामीप्रति सदासयता मात्र होइन, उपचार र सेवा सुविधा पनि ‘विशेष’ हुने रहेछ । हाम्रा छिमेकी बिरामी भन्दै थिए, ‘यहाँ बिरामी पनि आ-आफ्नो पार्टीका हुन्छन् ।’
पार्टीका बिरामी भेट्न आउनेहरुको तामझाम, तडकभडकले अस्पतालमा सानोतिनो कोलाहाल मच्याउँछ । कतिपय त बिरामीको अवस्था र उपचारबारे मात्र कुरा गर्दैनन्, राजनीतिका चर्को गफ जोत्न थाल्छन् । यसले नजिकका बिरामीलाई कस्तो असर गर्छ ? सायद उनीहरुलाई हेक्का हुन्न ।