निजगढ विमानस्थल उच्च प्राथमिकतामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको भनाइ
-
बिराज यादव
- today२२ माघ २०८१
बारा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले निजगढ विमानस्थललाई सरकारले उच्च प्राथमिकतामा राखेर निर्माण गर्नुपर्ने बताएका छन्। सोमबार सरोकार दर्पणको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले निजगढ विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउनुपर्ने आवश्यकता औंल्याए। ‘निजगढ विमानस्थल मास्टरप्लानअनुसार निर्माण गर्न सके संसारलाई देखाउन सक्ने खालको हुनेछ,’ मन्त्री पाण्डेले भने।
मन्त्री पाण्डेका अनुसार निजगढ विमानस्थल विभिन्न बाधाका कारण रोकिएको छ। ‘फास्ट ट्रयाकको पूर्णता तब मात्र सम्भव हुन्छ, जब निजगढ विमानस्थलको निर्माण सम्पन्न हुन्छ,’ उनले भने। नेपालका नेतृत्वकर्तासँग विकासका ठूला योजनाहरू भए पनि तिनलाई पूरा गर्न कठिनाइ भइरहेको उनले उल्लेख गरे।
मन्त्री पाण्डेले मध्य पहाडी राजमार्गको स्मार्ट सिटी परियोजनालाई उदाहरण दिँदै विकास योजनाहरू व्यावहारिक हुनुपर्नेमा जोड दिए। ‘पहिले दश वटा स्मार्ट सिटी बनाउने योजना थियो, अहिले ५४ वटा पुगिसके। तर, दश वटा पूरा गर्न पनि गाह्रो भइरहेको छ,’ उनले भने।
निजगढ विमानस्थल निर्माणमा विभिन्न चुनौतीहरू रहेको भन्दै उनले सरकारी प्राथमिकता स्पष्ट हुनुपर्ने बताए। ‘वन क्षेत्रको कारण हो कि, अदालतको कारण हो कि, अख्तियारका चिठीका कारण हो— जुनसुकै कारण भए पनि यी अवरोध चिर्न आवश्यक छ,’ मन्त्री पाण्डेले भने। उनले विकास, पुरातत्व र वन क्षेत्रको संरक्षणबीच सन्तुलन मिलाउँदै अघि बढ्नुपर्ने धारणा राखे।