मधेसकी छोरी पूजा महतो यू–१९ महिला विश्वकपको उत्कृष्ट टोली ‘टिम अफ द टुर्नामेन्ट’ मा
-
संजय कुशवहा
- today२१ माघ २०८१
वीरगञ्ज । नेपाली क्रिकेटकी उदयमान खेलाडी पूजा महतोले ऐतिहासिक उपलब्धि हात पारेकी छिन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले घोषणा गरेको यु–१९ महिला विश्वकप क्रिकेटको ‘टिम अफ द टुर्नामेन्ट’ मा नेपाली टोलीकी कप्तान पूजा महतोसमेत समावेश भएकी छन् ।
पूजा यस सूचीमा पर्ने एसोसिएट राष्ट्रकी एक मात्र खेलाडी हुन् । यो नेपालका लागि ठूलो गर्वको विषय बनेको छ । उनको नेतृत्वमा नेपालले पहिलो पटक यु–१९ महिला विश्वकपमा सहभागिता जनाएको थियो ।
नेपाल समूह चरणमा तीनै खेल गुमाउँदै सुपर फोरमा पुग्न असफल भए तापनि प्लेअफमा आयोजक मलेसियामाथि शानदार जित निकाल्यो ।
पूजाले प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरिन्— उनले बलिङतर्फ १४.३ ओभरमा एक मेडन राख्दै ६३ रन खर्चेर ९ विकेट झारिन् । मलेसियाविरुद्धको खेलमा ३.५ ओभर बलिङ गर्दै मात्र ९ रन दिएर ४ विकेट लिँदै उनले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । ब्याटिङमा पनि पूजाले ४ खेलमा ७० रन जोडिन्, जहाँ उनको औसत २३.३३ र स्ट्राइक रेट ५१.८५ रहेको थियो ।
आइसिसीद्वारा चयन गरिएको ‘टिम अफ द टुर्नामेन्ट’ मा विश्वकप विजेता भारतका ४, उपविजेता दक्षिण अफ्रिकाका ३, इंग्ल्याण्डका २ तथा नेपाल, अस्ट्रेलिया र श्रीलङ्काका १–१ खेलाडी परेका छन् ।
भारतले फाइनलमा दक्षिण अफ्रिकालाई ९ रनले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि उचालेको छ । नेपालका लागि भने पूजाको उपलब्धिले महिला क्रिकेटमा नयाँ सम्भावनाको ढोका खोलेको विश्वास गरिएको छ ।