बारा प्रहरीद्वारा ३९ लाख ८४ हजार बराबरको समान सहित दुई मिनी ट्रक नियन्त्रणमा
-
बिरेन्द्र यादब
- today२१ माघ २०८१
बारा । बारा प्रहरीले विशेष सूचनाका आधारमा दुई मिनी ट्रकलाई नियन्त्रणमा लिएको छ। ती ट्रकहरूबाट ३९ लाख ८४ हजार ७ सय ६० रूपैयाँ बराबरको सामान बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार गएराति जीतपुर सिमरा उप-महानगरपालिका वडा नं. १ पथलैया चौकमा प्रहरी चौकी पथलैयाले विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको प्र.०१–०२–००१ ख ८०८६ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्दा बिल विजकभन्दा बढी मूल्य रहेको आशंकामा विभिन्न सामान बरामद गरिएको हो।
बरामद सामानहरूमा ३८ लाख १६ हजार ७ सय ६० रुपैयाँ बराबरको इलेक्ट्रिक सामान, कपडा, कफी लगायतका अन्य खुद्रा सामानहरू रहेका थिए।
त्यस्तै, हिजै बाराको महागढीमाई नगरपालिका वडा नं. २ ईनर्वा चोकबाट पनि एक लाख ६८ हजार मूल्य बराबरको आलुसहित अर्को मिनी ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तेलकुवाबाट बरियारपुरतर्फ जाँदै गरेको ना ७ ख ३४३९ नम्बरको मिनी ट्रकमा लोड गरिएको सात टन आलु बरामद गरिएको हो।
प्रहरीका अनुसार दुवै ट्रकमा रहेको सामानको स्रोत स्पष्ट नहुँदा तथा बिल भरपाईभन्दा बढी मूल्य रहेको कारण ट्रकहरू नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ। नियन्त्रणमा लिइएका सामानहरू राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।
प्रहरीले बिल विजक भन्दा बढी मूल्यका सामानहरू भएकाले राजस्व छलीको आशंकामा छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ। प्रहरीका अनुसार बरामद सामानहरूको विवरण प्रमाणिकरण गरेर आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ।