०५ जेठ २०८१,शनिबार ९ : ५७ : ४४

वीरगञ्ज । सशस्त्र प्रहरीले मधेस प्रदेशका सीमावर्ती १ सय ४३ वडाका वडाध्यक्षहरूसँग सीमाका विविध विषयमा छलफल गरेको छ ।

 

बुधवार सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता वाहिनी मुख्यालय बर्दिबासको आयोजना र सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहालको उपस्थितिमा भएको अन्तर संवादमा वडाध्यक्षहरूले सीमाका विभिन्न समस्या उठान गरेका छन् ।

 

वडाध्यक्षहरूले दुई देशको सम्बन्ध र खुला सीमामा यसअघि सहज रूपमा हुने गरेको आवागमन र दैनिक उपभोग्य बस्तुको आयातमा भारतीय एसएसबी त कतै सशस्त्र प्रहरी बलले अनाहकमा अवरोध र केरकार गरेर दुःख दिने काम गरिरहेको गुनासो गरे । 

महोत्तरीका मटिहानी नगरपालिका – ७ का वडाध्यक्ष जितनारायण माझीले पछिल्लो समय सीमामा व्यापक समस्या देखिएको गुनासो गरे। धनुषा मुखियापट्टि मुसरनिया गाउँपालिका- २ का वडाध्यक्ष नरेशप्रसाद यादवले भारतीय एसएसबीले दुःख दिएको गुनासो गर्दै आफ्नो जमिनमा अस्थायी पुल बनाउन समेत नदिएको गुनासो गरे ।

 

केही वडाध्यक्षले युवाहरू लागुऔषध दुर्व्यसनीमा फसेर सीमावर्ती क्षेत्रमा विकृति मौलाएकाले सीमा व्यवस्थित बनाउन आवश्यक रहेको बताए । वडाध्यक्षहरूले दुई देशबिच रहेको पौराणिक, धार्मिक र पारिवारिक सम्बन्धमा कुनै असर पर्न नहुने गरी सीमा व्यवस्थित गर्नुपर्ने बताएका थिए ।

 

अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल र सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता वाहिनी मुख्यालयका प्रमुख दीपेन्द्र शाहले सिमानाका थप व्यवस्थित बनाउन मधेसको सिमानाकाका सबै वडाध्यक्षहरूसँग छलफल गरी सरकारलाई परामर्श सहितको प्रतिवेदन बुझाउने बताए । 

 

सशस्त्र प्रहरी बलका अनुसार ९ हजार ६६१ वर्ग किलोमिटर क्षेत्रफल र ६१ लाख १४ हजार जनसङ्ख्या रहेको मधेसमा ४६१ किलोमिटर लामो सीमा रहेकोमा सशस्त्र प्रहरी बलका स्थायी र अस्थायी गरी कुल १६० एकाइ सुरक्षाका लागि तैनाथ रहेको छ ।

ठाकुरराम क्यामपस इकाई अध्यक्ष अनिस पटेल, महानगर उपाध्यक्ष रामबाबू मण्डल, बहुदरमाई पालिका अध्यक्ष रबिंद्र रौनियार, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य जगत राई संचारकर्मी संजय साह लगायतले पनि हस्ताक्षर अभियानको समर्थन गर्दै हस्ताक्षर गरेका छन् । संकलन गरिएको हस्ताक्षर पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई बुझाईएको अखिल क्रान्तिकारीका मधेस प्रदेश सचिव विवेक साहले जानकारी दिनुभयो ।  

समाचार