कार्यक्रममा फ्रान्सेली अनुसन्धान तथा विकास संस्थान (आइआरडी) का प्रतिनिधि डा.प्याट्रिक वागनोन र डा. एडिना राकोभिटानुले विद्यार्थीहरूलाई कक्षामा आफ्नो उत्सुकता सम्बन्धी सम्पूर्ण प्रश्न सोध्न अनुरोध गर्नुभएको थियो । डा. प्याट्रिकले चार वर्षे आफ्नो नेपाल बसाइमा उच्च हिमालीय क्षेत्रको विस्तृत अध्ययन गरी धेरै कुराहरू सिक्न पाएको बताउनुभएको थियो ।
जल तथा मौसम विज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा दीपक अर्यालले शीतकालीन कक्षा सञ्चालनले विद्यार्थीहरूमा अध्ययन र अनुसन्धान प्रति थप आकर्षण बढाएको र स्थलगत अध्ययनमार्फत बौद्धिक क्षमताको विकास गराउन समेत सफल भइरहेको बताउनुभयो । विद्यार्थीहरूलाई निरन्तर अवसरहरू उपलब्ध गराइरहने र उनीहरूलाई उत्कृष्ट अध्ययन/अनुसन्धान गर्ने वातावरण निर्माणमा विभाग लागि रहेको बताउनुभयो । कार्यक्रममा त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवम् काठमाडौँ सेन्टर फर रिसर्च एण्ड एजुकेसन (केसिआरइ)का उपनिर्देशक डा. विनोद दवाडीले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै स्थलगत अध्ययनमा देखिएका व्यवहारिक ज्ञान र सूचनाहरूलाई आफ्नो अध्ययनसँग समन्वय गर्न विद्यार्थीहरूलाई अनुरोध गर्नुभएको थियो ।
उहाँले शीतकालीन कक्षाको माध्यमबाट विद्यार्थीहरूमा थप नेटवर्किङ भई सम्पर्क विस्तार हुने उद्देश्य रहेको बताउनुभएको थियो । हिमनदी तथा उच्च हिमाली क्षेत्रमा देखिएका पर्यावरणीय परिवर्तनबारेमा प्राप्त सूचना तथा तथ्याङ्कहरूको उपयुक्त उपयोगी गरी अनुसन्धानका जोडिन समेत विद्यार्थीहरूलाई उत्प्रेरित गर्नुभएको थियो ।
कार्यक्रममा शीतकालीन कक्षा सन् २०२३ को नेतृत्व गरिरहनुभएका जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक डा.दिवस श्रेष्ठले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुहुँदै शीतकालीन कक्षा सञ्चालनका मुख्य मुख्य विषयहरूमा बारेमा संक्षिप्त जानकारी गराउनुभएको थियो ।