सुर्य अस्पतालद्वारा पर्सा प्रहरीको थुनुवामा रहेकाहरूको स्वास्थ्य परीक्षण र औषधि वितरण
-
मो.सगिर अलि
- today२८ श्रावण २०८१
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सामा रहेका विभिन्न मुद्दाका ५७ जना थुनुवाहरूको स्वास्थ्यमा देखा परेका समस्याहरूको निशुल्क जाँच तथा औषधि वितरण गरिएको छ। सुर्य अस्पताल वीरगञ्जका विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूको टोलीले ८ जना महिला र ४९ जना पुरुष थुनुवाहरूको स्वास्थ्य परीक्षण गरेका हुन्।
पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी दीपक भारतीका अनुसार, यो कार्य थुनुवाहरूको स्वास्थ्य स्थितिमा सुधार ल्याउने उद्देश्यले गरिएको हो। प्रहरी हिरासतमा रहेका थुनुवाहरूको स्वास्थ्यमा देखिने समस्याहरूलाई समयमै पहिचान गरी उपचार गर्न सकियो भने गम्भीर स्वास्थ्य जोखिमहरूबाट बच्न सकिने प्रहरी प्रशासनले विश्वास लिएको छ।
प्रहरी प्रशासन र स्वास्थ्य संस्थाको सहकार्यले थुनुवाहरूको स्वास्थ्य अधिकारको संरक्षण गर्ने प्रयासलाई थप बलियो बनाएको छ। नियमित रूपमा स्वास्थ्य जाँच र आवश्यक औषधि वितरण जस्ता कार्यक्रमहरूले थुनुवाहरूको मानवअधिकारको सम्मानमा पनि योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यो अभियानले प्रहरी प्रशासनको जिम्मेवारीलाई मात्र नभएर थुनुवाहरूको स्वास्थ्यप्रति समाजको सचेतनालाई पनि उजागर गरेको छ।