बाल दिवसको अवसरमा वीरगंजमा प्रभातफेरी र सडक नाटक प्रदर्शन।
-
कुन्दन कुमार साह
- today२९ भदौ २०८१
वीरगंज: ६० औँ राष्ट्रिय बाल दिवस वीरगंज लगायत देशभर विविध कार्यक्रम गरी मनाइएको छ। यस वर्षको दिवस ‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ भन्ने नारासहित मनाइयो। वीरगंजमा प्रभातफेरी निकाल्नुका साथै सडक नाटक प्रदर्शन गरियो।
प्रभातफेरी वीरगंजको घण्टाघरबाट सुरु भई माइस्थान चोक, आदर्शनगर, घडिअर्वा हुँदै पुनः घण्टाघरमा सभामा परिणत भयो। प्रभातफेरीमा सहभागीहरूले ‘बाल संरक्षण, बालबालिकाको अधिकार, कसैले पनि नगरौँ दुव्र्यवहार’, ‘सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार’, ‘सुखी नेपाल, समृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार’ जस्ता नाराहरू अंकित प्लेकार्ड बोकेका थिए।
सभालाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बालबालिकाको शिक्षा, स्वास्थ्य लगायतका अधिकार सुनिश्चित गर्ने कार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। उनले कुनै पनि बालबालिका पढ्ने अवसरबाट वञ्चित नहुन् भन्नका लागि लक्षित वर्ग केन्द्रित छात्रवृत्ति, दिवा खाजा र विद्यार्थीमैत्री पाठ्यक्रमको व्यवस्था गरिएको जानकारी पनि दिए।
महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले बालबालिकामा गरिने लगानीले राष्ट्रको भविष्य निर्धारण गर्ने हुँदा वीरगंज महानगरपालिकाले निरन्तर लगानी गर्दै आएको बताए। बालबालिका विरुद्धका हिंसा, शोषण, र बालबिवाह जस्ता कुप्रथाहरूलाई पूर्णरूपमा न्यूनीकरण गर्दै बाल अधिकारको प्रवर्द्धन गर्नु सबैको दायित्व भएको उनले बताए। बालबालिकाको शैक्षिक अधिकार सुनिश्चित गर्न महानगरले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क बनाएको पनि उनले उल्लेख गरे।
कार्यक्रममा बालबालिकाहरूले लागू पदार्थ दुव्र्यसन र बालविवाहबारे सचेतना फैलाउने सडक नाटक प्रदर्शन गरे। कार्यक्रम वीरगंज महानगरपालिकाको आयोजना र टिपिओ नेपाल, आवर संसार, र लाइफ नेपालको सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रममा वडा नं. ४ का वडाअध्यक्ष जगत साह कानु, माइती नेपालकी गोमा पौडेल, सामाजिक अभियन्ता अनिषकान्त कुशवाहा, तथा बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूले पनि सहभागिता जनाए।
महानगरको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख रञ्जना पण्डितका अनुसार दिवसकै अवसरमा आइतबार महानगरका प्रमुख र उपप्रमुखसँग बालबालिकाको अन्तरसम्वाद कार्यक्रम आयोजना गरिनेछ।
नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो, र यसै दिनको सम्झनामा हरेक वर्ष राष्ट्रिय बाल दिवस मनाइन्छ।